
विश्वका विभिन्न देशमा तामाङ भाषा, लिपि, धर्म र संस्कृति अवलम्बन गर्दै बसोबास गरिरहेका समस्त तामाङ जातिको राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिक सम्मुन्नतिका लागि सामुहिक र संगठित रूपमा योगदान दिन आ–आफ्नो देशमा संगठन निर्माण गरी क्रियाशील रहँदै आएका तामाङ संघ/संगठनहरूलाई समन्वय गर्दै उनीहरूको हक–अधिकार एवम् विशिष्ट मौलिक पहिचानको रूपमा रहेका भाषा, लिपि, संस्कृति आदिको संरक्षण, सम्बद्र्धन तथा तामाङ समुदायको साझा सवालमा नीति निर्माण, नेतृत्व विकास र उनीहरूको मानव अधिकारको प्रत्याभुतिको लागि सक्रिय रहँदै दिगो विकासमा समेत एकअर्काबाट सिक्दै तामाङ समाजको बृहत्तर हितमा सशक्तिकरण र जागृति फैलाउनका खातिर साझा मञ्चको रूपमा सन् २००२ मा अन्तर्राष्ट्रिय तामाङ परिषद् गठन गरिएको हो ।
अन्तर्राष्ट्रिय तामाङ परिषद्मा हाल नेपाल, भारत, भुटान, थाइलैण्ड, बर्मामा स्थायी सदस्य संस्थाहरू आबद्ध छन् भने अमेरिका, हङकङ, कुवेत, इजरायल, जापान, बेलायत, मलेसिया, दक्षिण कोरिया, बहराइन, मकाउ, बेल्जियम, पोर्चुगल, जर्मनी, स्पेन, ओमन, साउदी अरब, दुबई, कतार, अष्ट्रेलिया, साइप्रस, क्यानाडा, इराक लगायत डेड दर्जन बढी मुलुकमा राष्ट्रिय सदस्य संस्थाहरू क्रियाशील छन् । प्रत्येक ४/४ वर्षमा लोकतान्त्रिक विधि, प्रक्रियाद्वारा परिषद्को सम्मेलन सम्पन्न गरी यसले विधान बमोजिम सम्मेलन आयोजक संस्थाले तोकेको व्यक्तिको अध्यक्षतामा सबैको प्रतिनिधित्व हुनेगरी एक कार्यसमिति गठन गर्दछ । परिषद्को केन्द्रीय सचिवालयको कार्यालय नेपालको काठमाडौंमा स्थापना गरिएको छ भने क्षेत्रीय रूपमा समेत क्षेत्रीय समितिहरू (दक्षिण एशिया, युरोप, पूर्वी एशिया तथा अष्ट्रेलिया, उत्तर–दक्षिण अमेरिका र खाडी तथा मध्यपूर्वी क्षेत्र) समेत क्रियाशील छन् ।
अन्तर्राष्ट्रिय तामाङ परिषद् तामाङ समाजको हित चाहने, संसारको सबै तामाङ संघ/संस्थाबीच समन्वयात्मक भूमिका निर्वाह गर्ने लाभ निरपेक्ष एकमात्र अन्तर्राष्ट्रिय स्तरको साझा मञ्च हो । यसले तामाङको राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिक लगायतका साझा मुद्दामा सबै तामाङ संस्थाहरूलाई एकठाउँमा उभ्याउने काम गर्दै आएको छ । परिषद्ले तामाङ जातिको अभिन्न अंगको रूपमा रहेको जन्मदेखि मृत्युसम्मको संस्कारहरू, सोनाम ल्होछार पर्व, तामाङ भाषा/लिपि, परम्परागत संस्थाहरू (ताम्बा, बोन्बो, लामा) तथा तामाङ संस्कृतिलाई अन्तर्राष्ट्रिय रूपमा प्रवद्र्धन, विकास र एकरूपताको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।