
अन्तर्राष्ट्रिय तामाङ परिषद , संसारभर छरिएर बसेका तामाङहरुको साझा संस्था हो । यसको गठन विश्वमा राजनीतिक सिमानाद्वारा बिभाजित तामाङ राष्ट्रलाई एउटा साझा विचार र मन्चमा संगठित गर्ने र त्यसमार्फत आफू बसेको देशमा आ-आफुले भोगेको समस्या, प्राप्त गरेको सफलता र आर्जन तथा बटुलेको ज्ञान योग्यता क्षमता र अनुभव एक आपस्तमा साटासाट गर्ने तथा एक ठाउँमा बसेर हामीलाई इतिहासले बोकाएको पछौटेपनको भारी फालेर तामाङ राष्ट्रको समृद्धि र प्रगतिको साझा मार्गचित्र कोर्ने उद्देश्यले भएको थियो । आज यसले २० बसन्तहरु पार गरिसकेको छ । यस अवधिमा हामीले उद्देश्य अनुरुप हाम्रो गन्तव्यको मार्गचित्र, रणनीति र कार्ययोजनाका खाकाहरु निर्माण गरिसकेका छौँ । यो दुई दशकमा विश्वमा संचार, यातायात र बिज्ञान – प्रविधि तथा ज्ञानको क्षेत्रमा अकल्पनीय प्रगति भएको छ । अब विश्वले बिकास गरेको यी मानव ज्ञान र प्रविधिको समेत उपयोग गरेर देशीय परिस्थिति अनुसार हाम्रा कार्ययोजनाहरुलाई तामाङ राष्ट्रका प्रत्येक सदस्यले दैनिक जिवनको व्यबहारमा प्रगति र विकासमा फरक अनुभुत हुनेगरि कार्यान्वयनमा लैजानु अनिवार्य आवश्यकता बनेको छ । हिजो हामीलाई एक ठाउँमा आउनु सिमाना, खोला नाला, पहाड, डाडा पाखा केहिले छेकेन, आज हामीले आफ्नो योग्यता, क्षमता र ज्ञानलाई पुर्णरुपमा प्रयोग गर्ने तत्परता, इच्छाशक्ति र नेतृत्व देखायौ भने हाम्रो प्रगतिको बाटो कसैले रोक्न सकदैन । अत : यो महान उद्देश्य प्राप्तिका लागि ” संसारभरिका तामाङहरु एक जुट होऔ ! ” भन्ने आह्वान गर्दछु ।
भवतु सब्ब मङ्गलम !
परशुराम तामाङ
संस्थापक अध्यक्ष