तामाङ समाजमा परम्परागत संस्थाहरु र चोहो प्रणाली

https://www.tamangcouncil.org/wp-content/uploads/2023/01/Kumar-Yonjan-1-1.jpg

कुमार योञ्जन, पूर्वअध्यक्ष, नेपाल तामाङ घेदुङ

विषय प्रवेशः

तामाङ समाजलाई चलाउने विभिन्न परम्परागत संस्थाहरु छन् । ती मध्ये तामाङ समाजको सभ्यतामा तीन वटा परम्परागत संस्थाहरुको महत्वपूर्ण योग रहेको देखिन्छ । ताम्वा, जसले तामाङ इतिहास र संस्कृतिको व्याख्यान, विकास र रक्षा गर्छ । बोन्वो, जसले तामाङ समाजको ज्यूँदो छउन्जेल झारफुक गर्ने, औषधिमुलो गर्ने तथा रोगव्याधीबाट तामाङ जनताको रक्षा गर्छ र लामा, जसले तामाङ समाजको व्यक्तिको मृत्यूपछिको सम्पूर्ण कर्मकाण्ड र लामा बुद्ध धर्मको विस्वास अनुसार मृतकलाई सुखावति भुवनमा पु¥याउने काम गर्छ भन्ने विस्वास गरिन्छ ।[1] यी तीन परम्परागत संस्थाहरु जसले तामाङ समाजलाई युगौदेखि चलाएर आएको छ । पूर्खाहरुले युगौदेखि विकास गरेको र चलाएको परम्परागत संस्कार संस्कृति नै तामाङ सभ्यता हो । यी तीनमध्ये कुनै एउटा पनि संस्थाको अभावमा तामाङ समाज अपुरो र अधुरो हुन्छ । अतः तामाङ समाजमा जन्मदेखि विहेसम्मका साँस्कृतिक रितिरिवाजहरुमा मुख्यतः ताम्वाको भूमिका मुख्य हुन्छ । विरामी, दुःख विमार, औषधोपचार गर्नुपर्दा बोन्वोको र मृत्यूपर्यन्त लामाको भूमिका मुख्य र महत्वपूर्ण हुन्छ । आजभोलि ताम्वा र बोन्वोहरुको विलयन वा संरक्षणको अभावमा सबै काम लामाहरुले नै गर्न थालेको पनि पाइन्छ । यसले ताम्बा र वोन्वोको संरक्षण र प्रबद्र्धनमा जोड दिनु आवस्यक देखाउँछ । यसबाट तामाङ समाजले आफ्नो समाजलाई चलाउने आफ्नै विधिहरुको विकास गरेको प्रष्ट भेटिन्छ । जसले तामाङ समाजको सामाजिक, प्रशासनिक एवं न्यायिक व्यवस्थापन गर्दथ्यो । त्यसलाई तामाङ समाजमा चोहो प्रणालीका रुपमा पनि जानिन्छ । जसको विकास नाङखोर (गाउँसभा) बाट भएको मानिन्छ ।

चोहो प्रणालीः
तामाङ समाजको परम्परागत स्थानीय शासन प्रणालीलाई चोहो प्रणाली भनिन्छ । तामाङ भाषामा चोहोको अर्थ हो अध्यक्ष वा मुख्य मान्छे, अर्थात् अध्यक्षात्मक प्रणाली । तामाङको परम्परागत सामाजिक संगठन कम्तिमा पनि ७ सदस्यीय हुन्छन् र यीनैले तामाङ समाजलाई सन्चालन गर्दछन् । प्रत्येक सदस्यको आ आफ्नो जिम्मेवारी र काम तोकिएको हुन्छ । प्रत्येकले आफ्नो जिम्मा अनुसारको जिम्मेवारी पुरा गर्नुपर्छ । तामाङ समाजको परम्परागत सामाजिक संगठनको संरचना निम्न प्रकारको देखिन्छः
चोहो — सभापति । मुख्य मान्छे
मुल्मी — गाउँको अगुवा — कोषाध्यक्ष
ङाप्ता — योगसाधना सम्पन्न व्यक्ति ।
दोप्ता — विद्धान्
गान्वा — गाउँको मान्यजन, भद्रभलाद्मी
ताम्वा — इतिहासकार, पुख्र्यौली कहने मान्छे
गौराई — सचिव । [2]

यस्तो संगठन हरेक ठूलो तामाङ गाउँमा हुनु अनिवार्य छ । लेखक परशुराम तामाङका अनुसार यसको मुख्य आर्थिक आधार उनीहरुको किपट भूमि (जो सामुहिक हुन्थ्यो) नै थियो । यसतो संगठनको निर्माण तामाङहरुको नाङखोर (सभा) ले गर्दथ्यो । अतः यसलाई नाङखोर प्रणाली पनि भन्दछन् । तामाङ भाषामा नाङखोरको अर्थ हुन्छ, गाउँसभा वा गाउँभेला । साधारण तः हरेक वर्ष गरिने भूमिपूजाको दिन चोहोको छनौट गरिन्थ्यो । किपट प्रथाको अन्त्य भएपछि चोहोको ठाउँ विस्तारै मुल्मीले लिन थालेको देखिन्छ । मुल्मीको अर्थ पनि मुल मान्छे भन्ने हुन्छ । चोहो भनेको समाजको नेता हो । किपट प्रथाको अन्त्य र हिन्दूकरण बढ्न थालेपछि बंशको आधारमा निजका बंशमा यो पद सर्दै जान थालेको पाइन्छ । चोहोको काम गाउँमा प्रशासन चलाउने, न्याय दिने, आध्यात्मिक नेता लगायतको विविध भूमिका रहेको हुन्छ । यो पद आफैमा समाजसेवाका रुपमा रहेको हुन्छ । अतः उसले गरेको स्वयंसेवा बापत समुदायका सदस्यहरुले चाडपर्वमा उपहार स्वरुप रक्सी र मारेको कुखुरा र पशुको टाउको दिने चलन रहेको पाइन्छ

चोहो प्रणालीको मुख्य कामः

तामाङ समाजका लागि चोहो प्रथा आफ्नो समाजलाई चलाउने एउटा परम्परागत पद्दति थियो र हो । यही प्रथाको माध्यमद्धारा उनीहरुले सदियौदेखि आफ्नो समाजलाई चलाउँदै आएका छन् । चोहो प्रथाको मुख्य काम निम्न थियोः

क. प्रशासनिक कार्य गर्ने,
ख. न्यायिक कार्य गर्ने,
ग. संस्कार संस्कृतिको कामलाई समाजमा व्यवस्थित गर्ने ।

यो ‘नाङखोर’ प्रथालाई विद्धान् लेखकहरुले तामाङ समाजको स्वशासन, स्वायत्तता र आदिम गणतान्त्रिक संरचनाको नमुना बताएका छन् । चोहोको काम समाजमा हुने तलमाथिको स्थितिमा नाङखोर (सभा)ले दिएको विधि विधान अनुसार त्यस्को अगुवाई गर्नु र कार्यन्वयन गर्नु हुन्थ्यो । चोहोलाई समाजमा न्याय र शान्ति कायम गर्ने अधिकार हुन्थ्यो । साथै चोहोलाई शान्ति र युद्धको घोषणा गर्ने अधिकार पनि हुन्थ्यो ।[3]
जो अन्यायमा परेको छ उसले चोहो समक्ष रक्सीको पोङ राखेर उजुरी गर्नुपथ्र्यो । त्यसपछि चोहोले समितिका सदस्यहरु र झगडिया दुबै पक्षलाई सभामा बोलाउँथ्यो । दुवै पक्षको कुरा सुनेपछि चोहोले सदस्यहरुको समेत कुरा सुनि फैसला दिन्थ्यो । चोहोले फैसला गरेपछि अन्याय गर्नेले पनि चोहो सामु अन्यायमा पर्नेलाई पोङ राखेर माफी माग्नुपर्दथ्यो । अन्यायमा पर्नेले पोङ छोएर माफी दिएपछि मुद्दाको औपचारिक रुपमा अन्त्य हुन्थ्यो । यसरी गाउँमा झैं झगडा वा मुद्दा मामिला केही भए नाङखोरका अगुवाको रुपमा चोहोले नै त्यस्को न्याय निरुपण, फैसला वा समाधान गर्ने गर्दथे ।
किपट प्रथाको अन्त्यपछि यो प्रथा पनि निस्तेज भएर गयो । तर आज पनि तामाङ गाउँमा चोहो, लामा, गान्वा र ताम्वाको महत्वपूर्ण स्थान छ । गाँउ समाजमा चोहोले गरेको फैसला सबैका लागि मान्य हुन्थ्यो । आज पनि तामाङ समाजमा कसैले तामाङ समाजको रितिथिति उलंघन गर्ने कार्य गरे गाउँ समाजले त्यस्तो व्यक्तिलाई समाजबाट हटक गर्ने चलन छ । यो गाउँलेहरुद्धारा निर्वाचित व्यक्तिले गाउँलेहरुको न्याय निसाफ गर्ने र प्रशासन चलाउने संरचना सारमा आदिम गणतान्त्रिक संरचना हो । पछि राणाकालको तालुकदारी र पन्चायतकालको गाउँ पन्चायतले ‘नाङखोर’लाई विस्थापित गर्‍यो । [4]
साथै, तामाङ समाजमा आज पनि अर्को एउटा संस्था ज्यूँदो छ त्यो हो घेवा घेदुङ । जो तामाङ समाजमा व्यक्तिको मृत्यपछिको कर्मकाण्ड सम्पन्न गर्न गठन हुन्छ र सो कार्य सम्पन्न भएपछि स्वतः विघटन हुन्छ ।

घेवा घेदुङः
तामाङ समाजमा प्रचलित शव्द घेवा को अर्थ हो पुन्य कार्य । यो एक प्रकारको सभा हो जहाँ मरेका व्यक्तिको संस्कारको अन्तिम कार्य गरिन्छ । यसलाई मृतकलाई सुखावति भवनमा पु¥याउने मात्र नभएर घरलाई शुद्धिकरण गर्ने पुन्य कार्यका रुपमा पनि लिइन्छ । तामाङ समाजमा घेवाको विशेष महत्व हुन्छ । घेवा खास गरेर मृतकको नाममा गुम्बा, लामा, घेदुङ तथा चेलीहरुलाई चन्दा वा दान दिनका लागि गरिन्छ । तामाङ समाजमा के विस्वास गरिन्छ भने घेवा सम्पन्न नभएसम्म मानिस मरेको हुँदैन, उसको चित्त यहीं वरिपरि भौतारिरहेको हुन्छ ।
तामाङ समाजमा दुई खालको घेवा हुन्छः पहिलो, स्व घेवा र दोस्रो, मरेपछि गरिने घेवा । स्वघेवा प्रायः ८४ वर्षको उमेरमा गर्ने गरिन्छ र यसरी स्व घेवा गर्नेको मरेपछि घेवा गर्नुपर्दैन भनिन्छ ।
घेवा कार्य १ दिनदेखि कम्तिमा ३ दिनसम्म गर्ने चलन छ । पहिले पहिले ७ दिनसम्म गर्ने चलन पनि थियो । यसरी घेवा गर्दा घरका मान्छेले आफ्ना सम्पूर्ण इष्टमित्र, दाजुभाई, नातागोता, गाउँलेहरुलाई बोलाएर खुवाउनुपर्दछ । अतः यो निक्कै महंगो र व्यवस्थापनका लागि धेरै मानिसको खाँचो हुन्छ । तामाङ समाजमा परम्परादेखि नै यसतो वेलामा प्रत्येक घरले सामाजिक रुपमा तोकिए बमोजिम जिन्सी वा रकम सहयोग गर्ने परम्परा छ ताकी सम्बन्धीत घरलाई आर्थिक बोझ कम होस् । तामाङ समाजमा यसतो घेवा प्रायः १४, २१ वा ४९ दिनमा गर्ने गरिन्छ । अतः यसलाई सम्पन्न गर्न दाजुभाई, नातागोता, गाउँका इष्टमित्र बसेर एउटा समिति बनाउने गरिन्छ जसलाई घेवा घेदुङ भनिन्छ । यसतो घेवा घेदुङ बनाउँदा निम्न व्यक्तिहरु अनिवार्य हुन्छन्ः
१, लामाः मुख्य पुजा सम्पन्न गर्ने व्यक्ति ।
२, गान्वाः गाउँको सबैभन्दा बृद्ध व्यक्ति जसले घेवा घेदुङमा अनुशासन कायम गर्छ ।
३, ताम्वाः जसले तामाङ समाजको इतिहास र संस्कृति बताउँछ ।
४, कोङग्यूरः जसले पूजाको सामानहरुको व्यवस्थापन गर्छ ।
५, उम्जेः जसले पुजामा परम्परागत वाजागाजाहरुको व्यवस्था गर्छ ।
६, लाइवाः जसले खाना नास्ताको व्यवस्थापन गर्छ ।
७, कटौकेः जसले कामको संयोजन गर्छ ।
८, छ्याङमाः जसले पुजामा फलफूल(सगुन) र पानी आदिको व्यवस्था गर्छ ।
९, छ्यूवाः जसले किचेनमा पानी, दाउरा तथा थाल बटुका आदिको व्यस्थापन गर्छ ।
१०, बोन्वोः जसले विरामी भएमा हेरचाह, औषधी आदि गर्छ ।
११, व्योन ह्रावा दोर्जेः स्वयंसेवक जसले पूजादेखि किचेनसम्मको सुरक्षा र रेखदेख गर्छ ।

यसतो घेवा कार्य गर्दा घरका मान्छेले पहिले लामालाई पोङ राखि अनुरोध गर्नुपर्छ । लामाले पोङ समातेपछि मात्र वल्ल घेवा कार्य शुरु हुन्छ । घेवा कार्य शुरु भएपछि घेवा घेदुङका सदस्यहरुले घेवा सम्पन्न नभएसम्म छोडेर हिंड्न मिल्दैन । घेवा सम्पन्न भएपछि घेदुङ पनि स्वतः विघटन हुन्छ । यो परम्परा आज पनि विद्यमान छ र यसरी नै तामाङ समाजले आफ्नो समाजको सामाजिक रितिथिति अनुसार समाजलाई चलाउँदै आएको पाइन्छ ।
यो आधारपत्र उपलव्ध तामाङ साहित्यहरुबाट लिपिबद्ध गरिएका हुन् । यसको स्थलगत एवं तथ्यगत अध्ययन गर्न यसै वर्ष रामेछाप, मकवान्पुर र रसुवाको खास खास गा वि स मा जाने योजना बनेको छ । त्यसपछि नै यसको आधिकारिक दस्तावेज हामी बाहिर ल्याउने छौं । यहाँसम्म आईपुग्दा हाम्रो परम्परागत संस्था र प्रणाली करिव करिव लोप भइसकेको अवस्थामा नै हामी पाउँछौं । यसलाई पुनर्जिवित गर्ने र तामाङ समाजको उक्त प्रणालीलाई स्वशासनको जगका रुपमा विकास गर्ने तथा आफ्नै परम्परागत संस्था र कानून मार्फत् आदिवासीहरु चल्थे र चल्छन् भन्ने पुनर्पुष्टि गर्न जरुरी भएको छ ।

घेदुङ परम्परागत संस्थाको ढाचा र कार्यशैलीमा बदलिनेः
विगत लामो समयदेखि घेदुङको स्थानीय संरचनामा रुपान्तरण गर्न आवस्यक ठानिएको भएपनि त्यसले मूर्त रुप पाउन सकिरहेको स्थिति थिएन । सातौ राष्टिय महाधिवेशनले परम्परागत शासन प्रणालीको अध्ययन गर्दै घेदुङको स्थानीय संरचनालाई सो अनुरुप परिवर्तन गर्दै लानुपर्ने म्याण्डेट प्रदान गरेपछि हामीले केन्द्रीय कार्यालयमा यसवारे छलफलाई अघि बढायौ । सो छलफलका आधारमा तामाङ समाजको परम्परागत संस्था र प्रणालीको संक्षिप्त अध्ययन र सो बमोजिमको संरचनावारे निम्न बमोजिम प्रस्ताव प्रस्तुत गरियो र रा का स को तेस्रो पूर्ण बैठकद्धारा अनुमोदन गरियो ।

संस्थागत रुपान्तरणको आवस्यकताः
घेदुङ भनेको तामाङ समाजको अगुवा, साझा र राष्टियस्तरको सामाजिक संस्था हो । यसले अहिले पनि कैयन् जिल्लाहरुमा सामाजिक मात्रै होइन सिंगै समाजको साँस्कृतिक नेतृत्व पनि गर्दै आएको छ र गर्नुपर्छ । तर यसको संरचना अहिले आइपुग्दा कम सामाजिक र बढी राजनैतिक एवं शहरमुखि प्रकारको भएको र त्यो सिधा सिधा समाज र जनजीवनको सामाजिक, साँस्कृतिक, न्यायिक एवं प्रशासनिक आवस्यकतासँग अर्थात् स्थानीय समुदायको सत्ताका रुपमा काम गर्न नसक्ने अवस्थामा रहेको कारण अव यसको स्थानीय संरचनालाई त्यस रुपमा ढाल्न आवस्यक भयो । त्यस रुपमा रुपान्तरण गर्न स्थानीय संरचनाहरुलाई चोहो प्रणालीका आधारमा कम्तिमा गाउँभेला (नाङखोर) बोलाउने, त्यसले ताम्वा, बोम्वो र लामासहितको गान्वा गान्सुम, लाप्तावाहरु सम्मिलित घेदुङको विधान अनुसार समिति बनाउने प्रक्रियाको थालनी गर्नु जरुरी छ । विधानको आवस्यक अन्य प्रक्रिया आगामी महाधिवेशनमा मिलाउन र अनुमोदन गर्न सकिन्छ ।
यसप्रकार अव आफ्नो परम्परागत संस्थाका रुपमा स्थानीय संरचनाहरुलाई बदल्दै घेदुङले समाजमा आईपर्ने सामाजिक, साँस्कृतिक, न्यायिक एवं प्रशासनिक कामको नेतृत्व गर्नुपर्दछ ।
त्यसकारण प्रत्येक वडामा एक वडा, एक घेदुङ, एक घेदुङ एक सहकारी (एक प्रकारको गुठी) को अवधारणा अनुरुप सामाजिक, आर्थिक एवं साँस्कृतिक प्रक्रियाबाट समाजलाई एकरुपतामा डो¥याउने जिम्मा अव घेदुङको हो । विगतमा र कतिपय ठाउँमा आज पनि हाम्रो समाजमा कुनै व्यक्तिलाई अप्ठयारो पर्दा वा मराउपराउ पर्दा घरलौरी एकमाना चामल, दाल, तरकारी, २० रुपैयाँ पैसा उठाउने चलन छ । त्यो एक प्रकारको गुठी तथा सहकारीकै ढाँचा हो । त्यसबाट आफ्नो समाजलाई आर्थिक अप्ठयाराहरुबाट जोगाउने, आर्थिक सामाजिक व्यवस्थापन र समृद्धिका लागि सहजता प्रदान गर्ने, जनताको सुखदुःखमा सिधा संस्थालाई जोड्ने प्रक्रिया शुरु हुन्छ । र, मात्र घेदुङ साँच्चै सबै तामाङको घेदुङ बन्छ ।
यसो गर्नलाई प्रत्येक वडा, टोलमा कम्तिमा एक घर एक सदस्य बनाउने कार्य घेदुङले अभियानकै रुपमा अघि बढाउनुपर्छ । ऊ घेदुङको सदस्य मात्र हुँदैन ऊ सहकारी (गुठी) को पनि सदस्य हुन्छ र समुदायको सुखदुःखमा जोडिन्छ । समुदायका सदस्यहरुबाट मासिक रुपमा उठ्ने थोरै रुपैयाँबाट वर्ष दुई वर्षमा लाखौं रुपैयाँ समुदायको पूँजीका रुपमा जम्मा हुन्छ । त्यो केवल सुखदुःखमा सहयोगी कोष मात्र हुँदैन, समाज विकासका लागि एउटा महत्वपूर्ण आर्थिक आधार पनि हुन्छ । यसले तामाङ समाजमा आर्थिक क्रान्ति ल्याउन सक्छ । त्यसबाट मात्र सिधा तामाङ समाजको आर्थिक उन्नति र स्थानीय सत्ताको रुपमा नेतृत्व दिने काम घेदुङले गर्नसक्छ । अतः सो कार्यको विकास गर्ने प्रक्रियामा स्थानीय एकाईहरु लाग्न जरुरी भएको छ । यसो गरेर मात्र हामी तामाङ समाजको परम्परागत कानून, न्याय प्रणाली एवं संस्कार सँस्कृतिको रक्षा र विकास गर्न सक्दछौं र घेदुङलाई हाम्रो समाजको साझा सत्ता र सम्पत्तिको रुपमा विकास गर्न सक्छौं ।

[1] , Yonjon- Kumar, Reading on Indigenous Culture and Knowledge, Published by IGD, Dec. 2010.

[2]. परशुराम तामाङ, तामाङ जाति, २०५१ः८१ ।
[3]. सीताराम तामाङ र श्याम श्रेष्ठः नेपालमा रैथाने लोकतान्त्रिक अभ्यास, २०६४, पृ ३० र ६१ ।
[4]. श्याम श्रेष्ठः नेपालमा रैथाने लोकतान्त्रिक अभ्यास, २०६४ः६५ ।